2026-08-21

खड्गकाली मा.वि. मा प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन तथा प्रगति विवरण वितरण कार्यक्रम सम्पन्न

खड्गकाली माध्यमिक विद्यालयमा चापाकोट नगरपालिका वडा नं. ४ घुर्लिचौर स्याङ्जामा मिति २०८३ भाद्र ५ गते शुक्रबारका दिन प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावकहरूसँगको अन्तर्क्रियासहितको प्रगति विवरण हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । चापाकोट नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एकरूपता कायम गर्ने नीति अनुसार गत असार ११ देखि १९ गतेसम्म वर्षेविदा अघि सञ्चालित प्रथम त्रैमासिक परीक्षाको नतिजा औपचारिक समारोहका बीच सार्वजनिक गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तिलकबहादुर खाँण प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहमा वर्तमान तथा भूतपूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, शिक्षक-अभिभावक सङ्घ एवं टोल शिक्षा समितिका सदस्यहरू, स्थानीय युवा क्लब, बाल क्लब, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, छिमेकी विद्यालयका शिक्षक-विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा शिक्षक सङ्गीता पौडेल के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई शब्दद्वारा आदरपूर्वक स्वागत गर्नुभयो । तत्पश्चात् परीक्षाको समग्र नतिजाबारे विश्लेषणात्मक टिप्पणी प्रस्तुत गर्दै शिक्षक जगदीशप्रसाद यादवले अपेक्षित प्रतिफल हासिल गर्न शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यार्थी स्वयं निरन्तर अभ्यस्त रहनुपर्ने र अभिभावकहरूले पनि घरमा सोही अनुसारको अनुकूल वातावरण सिर्जना गरिदिनुपर्नेमा विशेष जोड दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका सहायक प्रधानाध्यापक पशुपति पौडेलले विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूबीच प्रत्यक्ष एवम् त्रिकोणात्मक सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीमा रहने कडा अनुशासन र समर्पणबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा चौतर्फी विकासको परिकल्पना साकार हुन सक्ने कुरा प्रष्ट पार्नुभयो ।

यसैगरी विद्यार्थी प्रतिनिधिको रूपमा कक्षा १० की छात्रा इस्मी थापा र छात्र रोशन क्षेत्रीले मन्तव्य राख्दै विद्यालयले विगतमा कायम गरेका ऐतिहासिक कीर्तिमान र साखलाई जोगाइराख्न आफूहरू पूर्ण निष्ठाका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो । समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक लेसबहादुर खाँणले प्रथम त्रैमासिक परीक्षाको शैक्षिक तथा आर्थिक फेहरिस्त, नतिजा मूल्याङ्कनका आधार, विद्यालयका सबल एवं सुधारयोग्य पक्षहरू, भावी कार्ययोजना र संक्षिप्त बजेटको रूपरेखा स्पष्ट रूपमा सभासमक्ष राख्नुभयो । साथै, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँणले विद्यालयको विद्यालयले हालसम्म गरेको प्रसंशानीय उपलब्धिको उद्धरण गर्दै आगामी दिनहरुमा पनि सोही इतिहास दोहोरिने गरि मेहनत गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै आफ्नो मनतव्य व्यक्त गर्नुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि एवं निवर्तमान वि.व्य.स. अध्यक्ष तिलकबहादुर खाँणले विद्यालयलाई आधुनिक प्रविधिमैत्री शिक्षण-सिकाइमा रूपान्तरण गर्न आवश्यक पर्ने प्रोजेक्टरको व्यवस्थाका लागि चापाकोट नगरपालिकाका नगरप्रमुखसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयको सर्वाङ्गीण विकास र स्तरोन्नतिका लागि आफू सधैँ प्रत्यक्ष वा परोक्ष रूपमा क्रियाशील रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

विद्यार्थी प्रतिभा प्रस्तुतिहरूका साथ अघि बढेको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको नतिजा घोषणा गरिएको थियो । नतिजा सुनुवाइसँगै उत्कृष्ट स्थान हासिल गर्ने मेधावी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । साथै, अनुशासित, नियमित सरसफाइमा उत्कृष्ट योगदान दिने तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यार्थीहरूलाई पनि विधागत रूपमा पुरस्कृत गरिएको थियो । कार्यक्रम शिक्षक गोकर्ण जी.सी.ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राजेन्द्रबहादुर थापाले व्यवस्थापन समितिको नेतृत्वको हैसियतले आफूले पाएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा सधैँ अभ्यस्त रहन प्रोत्साहन गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण अतिथि, शिक्षक तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । औपचारिक समारोहको समाप्ति लगत्तै प्रत्येक कक्षामा शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक र व्यवस्थापन समितिका प्रतिनिधिहरूबीच विद्यार्थीको व्यक्तिगत शैक्षिक प्रगति र आचरणबारे सघन अन्तर्क्रिया गर्दै प्रगति विवरण पत्र वितरण गरिएको थियो ।

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटको सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरु श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोल ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुंदै छ...