2026-08-21

खड्गकाली मा.वि. मा प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन तथा प्रगति विवरण वितरण कार्यक्रम सम्पन्न

खड्गकाली मा.वि. मा प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन तथा प्रगति विवरण वितरण कार्यक्रम सम्पन्न

खड्गकाली माध्यमिक विद्यालयमा चापाकोट नगरपालिका वडा नं. ४ घुर्लिचौर स्याङ्जामा मिति २०८३ भाद्र ५ गते शुक्रबारका दिन प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावकहरूसँगको अन्तर्क्रियासहितको प्रगति विवरण हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । चापाकोट नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एकरूपता कायम गर्ने नीति अनुसार गत असार ११ देखि १९ गतेसम्म वर्षेविदा अघि सञ्चालित प्रथम त्रैमासिक परीक्षाको नतिजा औपचारिक समारोहका बीच सार्वजनिक गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तिलकबहादुर खाँण प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहमा वर्तमान तथा भूतपूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, शिक्षक-अभिभावक सङ्घ एवं टोल शिक्षा समितिका सदस्यहरू, स्थानीय युवा क्लब, बाल क्लब, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू, छिमेकी विद्यालयका शिक्षक-विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा शिक्षक सङ्गीता पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई शब्दद्वारा आदरपूर्वक स्वागत गर्नुभयो । तत्पश्चात् परीक्षाको समग्र नतिजाबारे विश्लेषणात्मक टिप्पणी प्रस्तुत गर्दै शिक्षक जगदीशप्रसाद यादवले अपेक्षित प्रतिफल हासिल गर्न शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यार्थी स्वयं निरन्तर अभ्यस्त रहनुपर्ने र अभिभावकहरूले पनि घरमा सोही अनुसारको अनुकूल वातावरण सिर्जना गरिदिनुपर्नेमा विशेष जोड दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका सहायक प्रधानाध्यापक पशुपति पौडेलले विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूबीच प्रत्यक्ष एवम् त्रिकोणात्मक सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीमा रहने कडा अनुशासन र समर्पणबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा चौतर्फी विकासको परिकल्पना साकार हुन सक्ने कुरा प्रष्ट पार्नुभयो ।

यसैगरी विद्यार्थी प्रतिनिधिको रूपमा कक्षा १० की छात्रा इस्मी थापा र छात्र रोशन क्षेत्रीले मन्तव्य राख्दै विद्यालयले विगतमा कायम गरेका ऐतिहासिक कीर्तिमान र साखलाई जोगाइराख्न आफूहरू पूर्ण निष्ठाका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो । समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक लेसबहादुर खाँणले प्रथम त्रैमासिक परीक्षाको शैक्षिक तथा आर्थिक फेहरिस्त, नतिजा मूल्याङ्कनका आधार, विद्यालयका सबल एवं सुधारयोग्य पक्षहरू, भावी कार्ययोजना र संक्षिप्त बजेटको रूपरेखा स्पष्ट रूपमा सभासमक्ष राख्नुभयो । साथै, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँणले विद्यालयको विद्यालयले हालसम्म गरेको प्रसंशानीय उपलब्धिको उद्धरण गर्दै आगामी दिनहरुमा पनि सोही इतिहास दोहोरिने गरि मेहनत गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै आफ्नो मनतव्य व्यक्त गर्नुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि एवं निवर्तमान वि.व्य.स. अध्यक्ष तिलकबहादुर खाँणले विद्यालयलाई आधुनिक प्रविधिमैत्री शिक्षण-सिकाइमा रूपान्तरण गर्न आवश्यक पर्ने प्रोजेक्टरको व्यवस्थाका लागि चापाकोट नगरपालिकाका नगरप्रमुखसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयको सर्वाङ्गीण विकास र स्तरोन्नतिका लागि आफू सधैँ प्रत्यक्ष वा परोक्ष रूपमा क्रियाशील रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

विद्यार्थी प्रतिभा प्रस्तुतिहरूका साथ अघि बढेको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको नतिजा घोषणा गरिएको थियो । नतिजा सुनुवाइसँगै उत्कृष्ट स्थान हासिल गर्ने मेधावी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । साथै, अनुशासित, नियमित सरसफाइमा उत्कृष्ट योगदान दिने तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यार्थीहरूलाई पनि विधागत रूपमा पुरस्कृत गरिएको थियो । कार्यक्रम शिक्षक गोकर्ण जी.सी.ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राजेन्द्रबहादुर थापाले व्यवस्थापन समितिको नेतृत्वको हैसियतले आफूले पाएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा सधैँ अभ्यस्त रहन प्रोत्साहन गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण अतिथि, शिक्षक तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । औपचारिक समारोहको समाप्ति लगत्तै प्रत्येक कक्षामा शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक र व्यवस्थापन समितिका प्रतिनिधिहरूबीच विद्यार्थीको व्यक्तिगत शैक्षिक प्रगति र आचरणबारे सघन अन्तर्क्रिया गर्दै प्रगति विवरण पत्र वितरण गरिएको थियो ।

2026-01-02

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालयमा आज मिति २०८२ पुस १८ गते शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरू भव्यताका साथ सम्पन्न भएको छ। 'बालिका मैत्री समूह' को आयोजनामा सञ्चालित उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि घैटो फुटाइ र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि कविता लेखन तथा छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताको नतिजा अनुसार घैटो फुटाइतर्फ कक्षा केजीबाट संयोग खाँण र कक्षा १ बाट पवन बि.क. प्रथम भएका छन्। त्यसैगरी, कविता लेखन प्रतियोगितामा कक्षा ६ बाट रोशनी पौडेल (अन्नपूर्ण सदन), कक्षा ७ बाट बिसुम खाँण (मनास्लु सदन), कक्षा ८ बाट सोडिमा सारु (अन्नपूर्ण सदन), कक्षा ९ बाट अन्जिता खाँण (कञ्चनजङ्घा सदन) र कक्षा १० बाट अप्सरा थापा (अन्नपूर्ण सदन) आ-आफ्नो कक्षामा प्रथम हुन सफल भएका छन्।
यस्तै, कक्षा ६ देखि १० का छात्रहरूबीच भएको सदनगत भलिबल प्रतियोगितामा अन्नपूर्ण सदनले प्रथम स्थान हासिल गरेको छ भने माछापुच्छ्रे सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन्। प्रतियोगिताका सम्पूर्ण विजयी छात्र-छात्राहरूलाई विद्यालयको तर्फबाट पुरस्कृत गरिने छ।

2025-11-14

​श्री खड्गकाली माविमा शिक्षक राजेन्द्र बहादुर थापाको सम्मानसहित बिदाइ

​श्री खड्गकाली माविमा शिक्षक राजेन्द्र बहादुर थापाको सम्मानसहित बिदाइ

कार्यक्रमको अन्त्यमा लिइएको सामूहिक तस्बिर
स्याङ्जाको चापाकोट नगरपालिका-४, घुर्लिचौरस्थित श्री खड्गकाली माध्यमिक विद्यालयले करिब ४० वर्ष लामो शिक्षण सेवापछि निवृत्त हुनुभएका शिक्षक श्री राजेन्द्र बहादुर थापालाई सम्मानसहित बिदाइ गरेको छ । विद्यालयले आज मिति २०८२ कार्तिक २८ गते एक कार्यक्रम आयोजना गरी उहाँको योगदानको कदर गरेको हो ।
सेवा निवृत्त हुनुभएको शिक्षक राजेन्द्र बहादुर थापा
शिक्षक थापाले यस विद्यालयमा आन्तरिक स्रोत, अस्थायी र स्थायी शिक्षकका रूपमा करिब चार दशक निरन्तर सेवा गर्नुभएको थियो । उहाँ वि.सं. २०४२ फाल्गुन १० गते अस्थायी र वि.सं. २०४५ जेठ २६ गते स्थायी नियुक्ति लिई सेवामा प्रवेश गर्नुभएको थियो भने, वि.सं. २०८२ असोज १० गतेदेखि अनिवार्य अवकाशमा हुनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रतिनिधि गीता खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक प्रसाद अर्याल, विद्यालय व्यवस्थापन समितिका वर्तमान पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक पशुपति पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी, प्रधानाध्यापक लेस बहादुर खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व वि.व्य.स. अध्यक्ष टंक प्रसाद अर्याल, जि.स.स. प्रतिनिधि गीता खाँण, शिक्षक जगदीशप्रसाद यादव र विद्यार्थीको तर्फबाट परि क्षेत्री लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले निवृत्त शिक्षक थापाले विद्यालयको शैक्षिक र भौतिक उन्नयनमा पुर्‍याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सुखद अवकाश जीवनको कामना गर्नुभयो ।
सो अवसरमा विद्यालय परिवार र विद्यार्थीहरूले विदाई हुनुभएका शिक्षक थापालाई टीका, खादा, दोसल्ला, टोपी र माल्यार्पणसहित सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
​आफ्नो अवकाशको अवसरलाई अविस्मरणीय बनाउँदै शिक्षक थापाले विद्यालयका जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले आफ्ना स्वर्गीय बुवा तहलसिङ थापा, माता लक्ष्मी देवी थापा र श्रीमती कृष्णकुमारी थापाको स्मृतिमा रु. ३०,०००/- (तीस हजार) को अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा शिक्षक थापाको रिक्त दरबन्दीमा सरुवा भई आउनुभएकी नवनियुक्त शिक्षिका कुमारी तुलसी सारु थापालाई स्वागतसमेत गरिएको थियो ।
​विद्यालयका शिक्षक गोकर्ण जिसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम, अध्यक्ष तिलक बहादुर खाँणले समापन मन्तव्य राख्दै विधिवत अन्त्य गर्नुभएको थियो । कार्यक्रमपश्चात् जलपानको व्यवस्था गरिएको थियो ।

2025-09-18

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो


श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जाले २०८२ असोज २ गते बुधबार “ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता" भन्ने आदर्श नाराको साथ रेडक्रसको आयोजनमा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र पठन सीपलाई उजागर गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। कक्षा १ देखि ३ सम्म कक्षागत तथा ४ र ५ का विद्यार्थीहरूमा अन्तरसदनात्मक अंग्रेजी भाषाको स्पेलिङ कन्टेस्ट सञ्चालन गरिएको थियो। त्यसैगरी, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरे।
प्रतियोगितामा कक्षा १-३ को स्पेलिङ कन्टेस्टमा कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट अनुराग काफले र कक्षा ३ बाट बर्षा खाँण प्रथम भएका छन् । त्यस्तै; कक्षा ४ र ५ अन्तरसदनात्मक रुपमा सञ्चालन गरिएको स्पेलिङ कन्टेस्टमा अन्नपूर्ण सदन प्रथम भएका छन् । उक्त सदनमा कक्षा ४ बाट सिमा क्षेत्री र संगम गुरुङ तथा कक्षा ५ बाट गौसम खाँण र सागर गुरुङ रहेका थिए । 
त्यसैगरी, विज्ञान प्रदर्शनी तर्फ कक्षा ६ बाट संस्कृति सारु, कक्षा ७ बाट अप्सन मल्ल, कक्षा ८ बाट बिनोद खाँण, ९ बाट इस्मी मल्ल र १० बाट नोमिस्का गुरुङले आ-आफ्नो कक्षाबाट प्रथम स्थान हासिल गर्न सफल भए। सर्वोत्कृष्ट प्रदर्शनी भने कक्षा ७ का अप्सन मल्लले गरे । उक्त प्रतियोगिताको निर्णायक विज्ञान शिक्षकहरु अविषेक अधिकारी र जगदीशप्रसाद यादव रहनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यता र रेडक्रसको अध्यक्ष इस्मी मल्लको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रम रेडक्रसको सचिव एलिजा रानाले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा सम्पूर्ण विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो । कक्षा १ देखि ५ सम्मकालाई विद्यालयले र कक्षा ६ देखि १० सम्मका प्रतियोगीहरुलाई रेडक्रसका पदाधिकारीहरुले पुरस्कार प्रायोजन गरेका थिए । 
अपडेट
लोडिङ हुंदै छ...