खड्गकाली मा.वि.मा १८ औं पुस्तकालय दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो
श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जाले २०८२ भदौ १५ गते आइतबार “हाम्रो पुस्तकालयः हाम्रो भविष्य" भन्ने मूल नाराको साथ १८ औं पुस्तकालय दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र पठन सीपलाई उजागर गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले खड्गकाली ज्ञान विकास पुस्तकालयका नेपाली भाषिक पुस्तक पठन सीप प्रतियोगितामा भाग लिए भने कक्षा ४ र ५ का विद्यार्थीहरूका लागि अंग्रेजी भाषाको पढाइ सीप (Reading Skill) प्रतियोगिता सञ्चालन गरिएको थियो। त्यसैगरी, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले 'पुस्तकालयको महत्त्व' शीर्षकमा निबन्ध लेखन प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरे।
प्रतियोगितामा कक्षा १-३ को पठन सीपमा कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट अनुराग काफले र कक्षा ३ बाट बर्षा खाँण प्रथम भएका छन् । उक्त प्रतियोगिता विद्यालयको पुस्तकालय व्यवस्थापन संयोजक शिव गरी, शिक्षक संगिता पौडेल र भूमिका थापाको सहजीकरणमा सम्पन्न भएको थियो।
शिक्षक पवन गैह्रे र विष्णु बहादुर पौडेलको सहजीकरणमा सम्पन्न भएको कक्षा ४-५ को पढाई सीप परीक्षण (Reading Skill Test) प्रतियोगितामा कक्षा ४ मा विश्व गुरुङ र कक्षा ५ मा प्रियाङ्का मल्ल, रोशनी खाँण र सिमा क्षेत्री भएका छन् प्रथम भए।
त्यसैगरी, निबन्ध लेखन प्रतियोगितामा कक्षा ६ बाट बिनिता गुरुङ, ७ बाट बिशुम खाँण, ८ बाट सलिना के.सी., ९ बाट परि क्षेत्री र १० बाट अप्सरा थापाले आ-आफ्नो कक्षाबाट प्रथम स्थान हासिल गर्न सफल भए। उक्त प्रतियोगितामा कक्षा शिक्षकहरु गोकर्ण जिसी, दुर्गा पाण्डे, अविषेक अधिकारी, जगदीशप्रसाद यादव लगायतले सहजीकरण गर्नुभएको थियो ।
कक्षा नर्सरी र केजीमा शिक्षकहरु शान्ती गुरुङ र संगिता अर्यालले विविध रचनात्मक लेखन कार्य सञ्चालन गरि पुस्तकालय दिवस मनाइएको थियो ।
नेपालमा विसं २०६५ देखि पुस्तकालय दिवस मनाउने प्रचलन सुरु भएको हो। विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाएको दिनको सम्झनामा यो दिवस मनाइन्छ।