2025-09-01

१८ औं  पुस्तकालय दिवसको कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।

१८ औं पुस्तकालय दिवसको कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।

हिजो मिति २०८२ भाद्र १५ गते १८ औं पुस्तकालय दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा भाग लिइ विजयी विद्यार्थीहरुलाई आज प्रार्थना समयमा पुरस्कृत गरिँदै ।














2025-08-31

खड्गकाली मा.वि.मा १८ औं पुस्तकालय दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो

खड्गकाली मा.वि.मा १८ औं पुस्तकालय दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो

श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जाले २०८२ भदौ १५ गते आइतबार “हाम्रो पुस्तकालयः हाम्रो भविष्य" भन्ने मूल नाराको साथ १८ औं  पुस्तकालय दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र पठन सीपलाई उजागर गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले खड्गकाली ज्ञान विकास पुस्तकालयका नेपाली भाषिक पुस्तक पठन सीप प्रतियोगितामा भाग लिए भने कक्षा ४ र ५ का विद्यार्थीहरूका लागि अंग्रेजी भाषाको पढाइ सीप (Reading Skill) प्रतियोगिता सञ्चालन गरिएको थियो। त्यसैगरी, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले 'पुस्तकालयको महत्त्व' शीर्षकमा निबन्ध लेखन प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरे।
प्रतियोगितामा कक्षा १-३ को पठन सीपमा कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट अनुराग काफले र कक्षा ३ बाट बर्षा खाँण प्रथम भएका छन् । उक्त प्रतियोगिता विद्यालयको पुस्तकालय व्यवस्थापन संयोजक शिव गरी, शिक्षक संगिता पौडेल र भूमिका थापाको सहजीकरणमा सम्पन्न भएको थियो।
शिक्षक पवन गैह्रे र विष्णु बहादुर पौडेलको सहजीकरणमा सम्पन्न भएको कक्षा ४-५ को पढाई सीप परीक्षण (Reading Skill Test) प्रतियोगितामा कक्षा ४ मा विश्व गुरुङ र कक्षा ५ मा प्रियाङ्का मल्ल, रोशनी खाँण र सिमा क्षेत्री भएका छन् प्रथम भए।
त्यसैगरी, निबन्ध लेखन प्रतियोगितामा कक्षा ६ बाट बिनिता गुरुङ, ७ बाट बिशुम खाँण, ८ बाट सलिना के.सी., ९ बाट परि क्षेत्री र १० बाट अप्सरा थापाले आ-आफ्नो कक्षाबाट प्रथम स्थान हासिल गर्न सफल भए। उक्त प्रतियोगितामा कक्षा शिक्षकहरु गोकर्ण जिसी, दुर्गा पाण्डे, अविषेक अधिकारी, जगदीशप्रसाद यादव लगायतले सहजीकरण गर्नुभएको थियो ।
कक्षा नर्सरी र केजीमा शिक्षकहरु शान्ती गुरुङ र संगिता अर्यालले विविध रचनात्मक लेखन कार्य सञ्चालन गरि पुस्तकालय दिवस मनाइएको थियो ।
नेपालमा विसं २०६५ देखि पुस्तकालय दिवस मनाउने प्रचलन सुरु भएको हो। विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाएको दिनको सम्झनामा यो दिवस मनाइन्छ।

2025-08-29

खड्गकाली मा.वि.मा नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न

​श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जा मा २०८२ भदौ १३ गते शुक्रबार बालक्लबको आयोजनामा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपाली श्रुतिलेखन र वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि श्रुतिलेखन र कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि 'मोबाइलको प्रयोग: हानिकारक वा उपयोगी' शीर्षकमा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रधानाध्यापकहरू राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो भने अन्य शिक्षकहरू अतिथिका रूपमा रहेका थिए।
कक्षा १-५ को श्रुतिलेखन प्रतियोगिता शिक्षकहरू संगीता पौडेल, प्रतिमा मुराव, शान्ति गुरुङ, भूमिका थापा, पवन गैह्रे र अभिषेक अधिकारी लगायतको सहजीकरणमा सञ्चालन भएको थियो। त्यसैगरी, वादविवाद प्रतियोगितामा निर्णायकको रूपमा शिक्षकहरू शिव गिरी, विष्णु पौडेल, र भूमिका थापा रहनुभएको थियो।
कक्षा १-५ को श्रुती लेखन प्रतियोगितामा कक्षा १ बाट पवन वि.क., कक्षा २ बाट सनिशा शाल्मी, कक्षा ३ बाट वर्षा खाँण र विश्वास वि.क., कक्षा ४ बाट विश्व गुरुङ एवम् कक्षा ५ बाट रोशनी खाँण प्रथम हुन सफल भएका छन् ।
यसैगरी, कक्षा ६-१० को वादविवाद प्रतियोगितामा अन्तरसदनात्मक वादविवाद प्रतियोगितामा प्रथम कंचनजङ्घा सदनका परि क्षेत्री र दिवन रनपाल भएका छन् । द्वितीय मनास्लु सदनका इस्मी मल्ल र हिमानी खाँण भएका छन् भने तृतीय अन्नपूर्ण सदनका मेलिना हिताङ र दिप्सन थापा तथा चतुर्थ माछापुच्छ्रे सदनका सलिना के.सी. र रोशन क्षेत्री भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँणले सहभागी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै मोबाइल फोनको सही प्रयोग र त्यसको दुरुपयोगले हुने फाइदा र बेफाइदाको बारेमा प्रस्ट्याउनुभयो।
बालक्लबको अध्यक्ष मेलिना हिताङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण बालक्लबका सचिव सलिना केसीले गरेका थिए । कार्यक्रम संयोजक अतिरिक्त कृयाकलाप संयोजक गोकर्ण जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा, विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी उनीहरूको उत्साह र लगनको सम्मान गरियो।

2025-08-27

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं.४ स्थित श्री खड्गकाली माध्यमिक (१–१०) विद्यालयमा मिति २०८२/०६/११ गते देखि रिक्त हुने प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदमा सरुवा प्रक्रिया अगाडि बढाइने भनी विद्यालयको च.नं. ४ मिति २०८२/०५/१२ को पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा योग्यता पुगेको स्थायी शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको सहमती सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को दफा १ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। 
पुनश्चः 
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना khadgakalischool@gmail.com मार्फत निवेदन पेश गर्न सकिने छ। 
२. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारबाही हुने छैन।



2025-08-24

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, स्याङ्जामा भोली मिति २०८२ भाद्र ०९ गते सोमबार स्थानिय विदा राखिएकोले विद्यालयको नियमित पठनपाठन कार्य बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।
पुनश्च : मिति २०८२ भाद्र १० गते हरितालिका तीजको अवसरमा महिला विदा हुने व्यहोरा जानकारी गराइन्छ ।
अपडेट
लोडिङ हुंदै छ...