5/06/2024

खड्गकाली मा.वि. मा ६१ औं वार्षिकोत्सबको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रम सञ्चालन

खड्गकाली मा.वि. मा ६१ औं वार्षिकोत्सबको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रम सञ्चालन

खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ बैशाख २४ गते ६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरु सञ्चालन भएको छ ।
खेलकुदहरुमा अन्तर-सदनात्मक छात्र (पुरुष) भलिवल, चम्चा-गुच्छा दौड, हिसाब दौड, सम्झना खेल र भित्र-बाहिर खेल सञ्चालन भएको थियो । अन्तर-सदनात्मक छात्र भलिवल प्रतियोगितामा कञ्चनगंघा सदन प्रथम भएका छन् । द्वितीय अन्नपूर्ण सदन भएका रहेका छन् भने तृतीय र चतुर्थ हुन सफल सदनहरु क्रमशः सगरमाथा र मनास्लु रहेका छन् ।
कञ्चनजंघा सदनबाट खेलाडीहरु हर्षित सारु (टिम क्याप्टेन), निरज गुरुङ, संगम गुरुङ, बिकास गुरुङ, अस्मित सारु, कृष्णा खाँण, विवश गुरुङ र निशान खाँण रहेका थिए । अन्नपूर्ण सदनका खेलाडीहरुमा दिवान रनपाल (टिम क्याप्टेन), रोहन पुलामी, सोनाम थापा, रोशन क्षेत्री, रोहित पुलामी, दिपसन सारु, अनिस क्षेत्री र नारायण मल्ल रहेका थिए । सगरमाथा सदनबाट विवेक सारु (टिम क्याप्टेन), निश्चल बि.सी., डिम्पल गुरुङ, रिजन क्षेत्री, एलोन गुरुङ, इन्द्र बहादुर थापा, संगम बि.सी. र हिरा थापा रहेका थिए भने; मनास्लु सदनबाट बिष्णु मल्ल, सम्राट सिहं, राज मगर, टेक बहादुर गुरुङ, सुशील खाँण, लोक बहादुर थापा, दिनेश गुरुङ र सहिल सारु रहेका थिए ।
कक्षा १-५ का विद्यार्थीहरु बिच सञ्चालन भएको चम्चा गुच्छा दौड प्रतियोगितामा कक्षा ५ को छात्र प्रथम प्रशान्त रुचाल र द्वितीय कक्षा ५ को छात्र उज्ज्वल खाँण भएका छन् । त्यसैगरी, कक्षा ४-५ को हिसाब दौडमा कक्षा ५ का छात्रा संस्कृति सारू विजयी भएका छन् । कक्षा १-३ को हिसाब दौड प्रतियोगितामा कक्षा ३ का छात्रहरु सजिता कुँवर प्रथम, सुबर्ण थापा द्वितीय र डिनिशा थापा तृतीय भएका छन् ।
सम्झना खेल अन्तर्गत कक्षा ४-५ बाट अत्याधिक शब्दहरु स्मरण गरि प्रथम हुन सफल कक्षा ५ की छात्रा संस्कृति सारू र द्वितीयअप्सन सुवेदी रहेका छन् । त्यससँगै, कक्षा १-५ का विद्यार्थीहरुबिच सञ्चालन भएको भित्र बाहिर खेलमा प्रथम कक्षा ५ की छात्रा संस्कृति सारू र द्वितीय एन्जिला थापा तथा कक्षा ६-८ का विद्यार्थीहरुबाट प्रथम सालनी खाँण र द्वितीय प्रशन्न खाँण भएका छन् ।
प्रतियोगितामा बिजयी सम्पूर्ण छात्र छात्राहरुलाई भोलि ६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुरस्कृत गरिने छ ।

2/09/2024

खड्गकाली मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मिति २०८० माघ २६ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालक्लबको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा ४-५ लाई "श्रमको सम्मान र सहयोग", कक्षा ६-७ लाई "विद्यालय र समूदायको सम्बन्ध" र कक्षा ८-९ लाई "समूदायको विकासमा स्थानीय तहको भूमिका" शिर्षक दिइ तहगत रुपमा सञ्चालन गरिएको उक्त वक्तृत्वकला प्रतियोगितामा कक्षा ४-५ बाट प्रथम दिप्सन थापा (कक्षा ५), द्वितीय विशुम खाँण (कक्षा ५) र तृतीय प्रसन्न खाँण"(कक्षा ५) भएका छन् । 

त्यसैगरी, कक्षा ६-७ बाट प्रथम इस्मी खाँण (कक्षा ७), द्वितीय परी क्षेत्री (कक्षा ७) र तृतीय सदिच्छा कुँवर (कक्षा ६) भएका छन् । कक्षा ८-९ बाट भने प्रथम, द्वितीय र तृतीय हुन सफल प्रतियोगीहरु क्रमशः हिमानी खाँँण (कक्षा ८), स्मृति बिसी (कक्षा ९) र खुसी थापा (कक्षा ९) रहेका छन् । प्रतियोगितामा विजयी सम्पूर्ण विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

निर्णायक मण्डलको रुपमा ढाकाराम भट्टराई (आयुस), शिव गिरी र कोपिला केसी रोका रहनुभएको थियो । बाल क्लबको अध्यक्ष दिवान रनपालको अध्यक्ष्तामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्र.अ. लेस बहादुर खाँण हुनुहुन्थ्यो भने बाल क्लबको सचिव नम्रता खाँणद्वारा कार्यक्रमको उद्घोषण भएको थियो ।

1/26/2024

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

आज मिति २०८० माघ १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बालक्लबको आयोजनामा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शुक्रबारे कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त नृत्य प्रतियोगितामा बाग्मती सदनबाट सोनिका सारु, कोशी सदनबाट दिपशिखा थापा, कर्णाली सदनमा एन्जिता खाण र गण्डकी सदनबाट अप्सरा खाँणले सहभागीता जनाएका थिए । 

प्रतियोगितामा कोशी सदनले प्रथम स्थान हाँसिल गरेका छन् । द्वितीय हुन सफल सदन कर्णाली रहेका छन् भने तृतीय र सान्त्वना स्थान हाँसिल गर्न सफल सदनहरु क्रमशः गण्डकी सदन र बाग्मती सदन रहेका छन् ।

निर्णायक मण्डलको रुपमा शिक्षकहरु उम बहादुर गुरुङ (बिकास), कोपिला केसी रोका र संगिता पौडेल रहनुभएको थियो भने अन्य शिक्षकहरुले सुपरिवेक्षकको भूमिका निभाउनुभएको थियो । प्रतियोगी विद्यार्थी बाहेक अन्य विद्यार्थीहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरि कार्यक्रमलाई अझ रौनकता प्रदान गरेका थिए । 

बाल क्लबको सचिव सिता थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथी प्र.अ. लेस बहादुर खाँण र सभापतिको रुपमा बालक्लबको अध्यक्ष कक्षा ८ को छात्र दिवान रनपाल रहेका थिए । नृत्य प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित विजयी विद्यार्थीहरुलाई प्र.अ. लेस बहादुर खाँणले बधाई ज्ञापन गर्दै व्यक्तिगत रुपमा पुरस्कृत गर्नुभयो ।

1/19/2024

खड्गकाली माविमा अन्तरसदनात्मक कविता लेखन प्रतियोगिता सम्पन्न

खड्गकाली माविमा अन्तरसदनात्मक कविता लेखन प्रतियोगिता सम्पन्न

आज मिति २०८० माघ ५ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तरगत बालक्लबको आयोजनामा अन्तरसदनात्मक कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा कक्षा ४ बाट नजमा सारु, कक्षा ५ बाट शुसन क्षेत्री, कक्षा ६ बाट सदिच्छा कुवँर, कक्षा ७ बाट रोशन क्षेत्री, कक्षा ८ बाट अप्सना खाँण, कक्षा ९ बाट स्मृति बि.सी. र कक्षा १० बाट सीता थापाले भाग लिएका थिए ।
प्रतियोगितामा कक्षा आधारभूत तह (कक्षा ५-५) बाट गण्डकी सदन अन्तरगतका सुसन क्षेत्री, आधारभूत तह (कक्षा ६-८) बाट गण्डकी सदन अन्तरगतकै अप्सना खाँण र माध्यमिक तह कक्षा (कक्षा ९-१०) बाट कोशी सदन अन्तर्गतका सीता थापाले उत्कृष्ट कविता लेखन गरेका छन् । प्रतियोगितामा उत्कृष्ट कविता लेखन गर्ने उल्लेखित विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

9/29/2023

खड्गकाली मा.वि. मा प्रथम त्रैमासिक परीक्षा २०८० को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

खड्गकाली मा.वि. मा प्रथम त्रैमासिक परीक्षा २०८० को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा आज मिति २०८० असोज १२ गते शुक्रबार प्रथम त्रैमासिक परीक्षा २०८० को नतिजा प्रकाशन, प्रगति विवरण तथा पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । चापाकोट नगरपालिकाका सम्पुर्ण सामुदायिक एवं संस्थागत विद्यालयहरुमा एकरुपता हुने गरि भदौ ६ गतेदेखि संचालित परीक्षाको नतिजा आज प्रकाशन भएको हो ।

शिक्षक पशुपति पौडेलद्वारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि 'जिल्ला समन्वय समिति' स्याङ्जाका सदस्य गिता खाँण रहनु भएको थियो र विशिष्ट अतिथिमा चापाकोट नगरपालिका वडा नं. ४ का वडा सदस्य बिष्णु देवी वि.क रहनुभएको थियो । कार्यक्रममा अन्य नगर वडा समितिका पदाधिकारी, वर्तमान तथा भू.पू. वि.ब्य.स. अध्यक्ष, विद्यालय संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, शिक्षक अभिभावक संघ तथा टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएका थिए । छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्याक्तित्व, वर्तमान तथा भू.पू. विद्यार्थी, अभिभावक र अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षक कोपिला रोका के.सी.द्वारा स्वागत मनतव्य व्यक्त भयो । भौतिक तथा प्राविधिक पक्षमा सम्पन्न विद्यालयको शैक्षिक गुणस्तर पनि नमूना हुनुपर्ने र त्यस कुरामा कटिबद्ध रहने प्रतिबद्धता जाहेर गर्दै शिक्षक ढाकाराम भट्टराई (आयुश)ले आफ्नो मनतब्य व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुको समग्र नतिजाको बारेमा विश्लेषणात्मक टिप्पणी गर्नुभयो । अपेक्षित प्रतिफल प्राप्त गर्न समग्र पक्षहरु जिम्मेवार हुनुपर्ने कुरा प्रष्ट्याउँदै विद्यार्थीहरुलाई विभिन्न सुझावहरु समेत दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनको लागि विद्यार्थीहरु स्वयंले हरसम्भव कोशिस गरिरहनुपर्ने र अभिभावहरुले पनि सोही अनुरुप वातावरण सिर्जना गर्नुपर्ने कुरा प्रस्ट्याउँदै शिक्षक जगदीश प्रसाद यादबले आफ्नो मनतव्य व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच प्रत्यक्ष एवम् त्रिकोणात्मक सम्बन्ध कायम भएमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो ।

विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा १० की छात्रा सीता थापाले विगतका दिनहरूमा विद्यालयले रचेको किर्तिमान आफूलेहरुले पनि कायम गर्ने र विद्यालयको गरिमा सदैब उच्च राखिराख्ने भाव प्रस्तुति सहित आफ्नो मनतब्य प्रस्तुत गरे ।

विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणले नेपाल शिक्षक महासंघले आह्वान गरेर गत असोज ३ गतेदेखि सुरु भएको काठमाडौं केन्द्रित शिक्षक कर्मचारी आन्दोलनको कारण अबरुद्ध दुई दिनको पढाईको निम्ति सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुसंग माफी माग्दै यसको क्षतिपूर्ति स्वरूप आगामी विदाको दिनहरुबाट व्यवस्था मिलाउने कुरा बताउनुभयो । उहाँले शिक्षक आन्दोलनमा विगत दुई दशक यताको शिक्षक दरबन्दीको अभावलाई पदपूर्ति गर्ने गरि वार्ता सम्झौता भएको र यसले सम्पूर्ण शिक्षा जगतमा दिर्घकालिन फाइदा पुर्‍याउने कुरा स्पस्ट पार्नुभयो । सरस्वती मन्दिर निर्माणको निम्ति आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई समेत धन्यबाद दिँदै उहाँहरूको योगदानको कदरस्वरुप शिलालेखमा नामावली प्रकाशित गर्ने योजना रहेको कुरा समेत उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सुधार गर्ने छिटै टोल शिक्षा समितिको गठन गर्ने कुरा पनि बताउनुभयो ।



कार्यक्रम प्रमुख अतिथीको रुपमा रहनुभएका जिल्ला शिक्षा समन्वय समितिका सदस्य गिता खाँणले विद्यालयको जुनसुकै पक्षको उन्नयनमा प्रत्यक्ष वा परोक्ष रुपमा आफूले भूमिका खेलिरहने प्रतिबद्धता जाहेर गर्दै मनतव्य दिनुभयो ।

कार्यक्रमको बिचमा विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम तथा प्रतिभाहरु प्रस्तुत भयो । कक्षा नर्सरीदेखी कक्षा दससम्मका विद्यार्थीहरुको नतिजा सुनुवाइ भयो र नतिजा सुनुवाइ संगै सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण भयो । कार्यक्रममा विगतको शुक्रबारे कार्यक्रम तथा अतिरिक्त कृयाकलापहरुमा विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण भयो ।

कार्यक्रमको अन्त्यमा सभापतिको रुपमा रहनुभएको वि.व्य.स.का अध्यक्ष तिलक बहादुर खाँणले अभिभावकहरुलाई आफू व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले आफ्नो जिम्मेवारी हरसम्भव पूरा गरेको कुरा स्पस्ट पार्दै विद्यार्थीहरुलाई सिकाइको निम्ति सधैं अभ्यस्त रहिरहन अनुरोध अनुरोध गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा अभिभावकहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य वि.व्य.स.का सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तरकृया तथा प्रोग्रेस कार्ड वितरण भयो ।

6/16/2023

खड्गकाली मा.वि.मा आधारभूत तथा माध्यमिक तह स्तरीय सुन्दर लेखन प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा आधारभूत तथा माध्यमिक तह स्तरीय सुन्दर लेखन प्रतियोगिता सम्पन्न

आज मिति २०८० असार १ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बाल क्लबको आयोजनामा सुन्दर नेपाली लेखन प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुको लेखन शैलीलाई अवलोकन गरि आवश्यक पृष्ठपोषण दिई उनीहरुको लेखन कलालाई दिर्घकालिन सुधार गर्ने उद्देश्यकासाथ उक्त कार्यक्रम सञ्चालन भएको हो । 
सुन्दर नेपाली लेखन प्रतियोगितामा सुन्दर लेखकको रुपमा कक्षा २ बाट गौसम खाँण, कक्षा ४ बाट रेबिका बि.क, कक्षा ५ बाट दिप्सन थापा, कक्षा ६ बाट सलिना के.सि., कक्षा ७ बाट इस्मी मल्ल, कक्षा ८ बाट अप्सना खाँण, कक्षा ९ बाट करिना खाँण र कक्षा १० बाट सर्मिला क्षेत्री छनोट हुन सफल भएका छन् । 
गत मिति २०८० जेठ ५ गते भएको सुन्दर अंग्रेजी लेखन प्रतियोगितामा कक्षा १-८ मा प्रथम अप्सरा थापा (कक्षा ८) र दिपशिखा थापा (कक्षा ८) साथै करिना खाँण (कक्षा ८) द्वितीय हुन सफल भएका थिए । त्यसैगरी, कक्षा १-७ बाट प्रथम दिप्सन थापा (कक्षा ५) र द्वितीय प्रियांका मल्ल (कक्षा ३) भएका थिए ।
सम्पूर्ण उत्कृष्ट छनोट हुन सफल विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना । प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित छनोटमा पर्न सफल विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

5/15/2023

खड्गकाली मा.वि.मा ६० औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एवं चारकोठे भवन समुद्घाटन कार्यक्रम सम्पन्न

खड्गकाली मा.वि.मा ६० औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एवं चारकोठे भवन समुद्घाटन कार्यक्रम सम्पन्न

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०८० वैशाख ३१ गते ६० औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एवं चारकोठे भवनको समुद्घाटन समारोह भव्यताकासाथ सम्पन्न भयो ।
रिवन काटी चारकोठे भवनको उद्घाटन गर्दै प्रमुख अतिथि
कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख एवम् विकासप्रेमी युवा नेता श्री देव बहादुर खाँण (ईश्वर) रहनु भएको थियो । विशिष्ट अतिथिमा चापाकोट नगर प्रहरी नायव उपरीक्षक (डिएसपी), 'जिल्ला समन्वय समिति' स्याङ्जाका सदस्य गिता खाँण, चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण एवं चापाकोट ने.का. सभापति तथा पूर्व वडाध्यक्ष बिक्रम सारु लगायत रहनुभएको थियो । समारोहमा नगर वडा समितिका पदाधिकारी, भु.पु. वि.ब्य.स. अध्यक्ष, भू.पू. शिक्षक, विद्यालय संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, शिक्षक अभिभावक संघ तथा टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएका थिए । छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्याक्तित्व, वर्तमान तथा भू.पू. विद्यार्थी, अभिभावक र अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थित रहेको थियो ।
कार्यक्रममा शिक्षक कोपिला रोका के.सी.द्वारा स्वागत मनतव्य व्यक्त भयो । विद्यालयका प्रधानाध्यापकले आ.व. २०७९/२०८० को सरकारी तथा निजी स्रोत गरी रु. ९९,२९,३१८/- बराबरको आय-व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । उहाँले कार्यक्रमको केन्द्रबिन्दु अर्थात नगर प्रमुख देव बहादुर खाँणलाई गत वर्षको वार्षिकोत्सबमा बाचा गरे अनुरुपको भौतिक निर्माण योजना तथा शिक्षक अनुदान उपलब्ध गराइदिनुभएकोमा धन्यबाद दिँदै आगामी शैक्षिक सत्रको निम्ति आधारभूत विद्यालयीय भौतिक तथा शैक्षिक पूर्वाधारहरुको संक्षिप्त मागपत्र प्रस्तुत गर्नुभयो । उहाँले, नगरप्रमुख समक्ष विद्यार्थीहरुको संख्या र आवश्यकता अनुरुप माध्यमिक शिक्षक दरबन्दी उपलब्ध गराउन वा शिक्षक अनुदानलाई निरन्तरता दिन र आम अभिभावकहरुको मागलाई सम्बोधन गर्दै प्लस टु कक्षा वृद्धि प्रसंगमा नगरप्रमुखलाई ध्यानाकर्षण गर्नुभयो ।
आर्थिक कारोबारको प्रतिवेदन पेश गर्दै प्र.अ. लेसबहादुर खाँण
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहनुभएको नगर सभापति विक्रम बहादुर सारु, वडा नं ४ वडाध्यक्ष अर्जुन कुमार खाँणले पनि ६० औं वार्षिकोत्सव मनाउन सफल भएकोमा समग्र विद्यार्थी र विद्यालय परिवारलाई बधाई दिँदै मनतव्य दिएर आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा आफूहरुले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । एवम् रितले आमन्त्रित अतिथिहरुद्वारा पनि मन्तव्य व्यक्त भयो ।
कार्यक्रममा वार्षिक परीक्षा - २०७९ को नतिजाको पुरस्कार वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषबाट जनही रु. १०००/- का दरले ३२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, माध्यमिक शिक्षा परीक्षा (SEE) २०७८ को उत्कृष्ट २ जना छात्र र छात्राहरु सुबास बहादुर पौडेल र भूमिका मल्ललाई जनही नगद रु. ५०००/- र प्रमाणपत्र, आधारभूत तह परीक्षा (BLE) २०७९ को विद्यालय उत्कृष्ट स्मृति बि.क.लाई नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र तथा २०७९ को बार्षिक परीक्षामा सर्बोत्कृष्ट अंक ल्याई विद्यालय प्रथम हुन सफल छात्रा आइस्मा खाँणलाई पनि नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदान गरियो ।
SEE उत्कृष्ट पुरस्कार ग्रहण गर्दै सुवास बहादुर पौडेल
नव निर्मित चारकोठे भवनको जग्गादाता दिवंगत भू.पु. वि.व्य.स. अध्यक्ष क्या. समर बहादुर शाहीको धर्मपत्नीलाई विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको करदस्वरुप सम्मान गरियो । त्यसैगरी उत्कृष्ट अभिभावकको रुपमा भू.पू. शिक्षक अभिभावक संघका अध्यक्ष श्याम बहादुर थापा सम्मानित हुनुभयो । आफ्नो गाउँको क्लवको २० औं वार्षिकोत्सबको अवसरमा खड्गकाली मा.वि.मा अक्षयकोष स्थापनार्थ रु. तीस हजार प्रदान गर्नुभएका श्री चक्रकला युवा क्लव, चापाकोट-४, लामडाडालाई पनि सम्मान गरियो । शिक्षक उम बहादुर गुरुङ (बिकास) लाई विद्यालयको शैक्षिक, प्रशासनिक र अन्य गतिविधिमा गर्नुभएको उत्कृष्ट प्रदर्शनीको मूल्यांकन गर्दै सम्मानित गरियो । त्यसैगरी, प्रत्यक्ष वा परोक्ष रुपमा योगदान गर्ने विभिन्न अतिथी, अभिभावक र समाजसेवी व्यक्तित्वहरू पनि विद्यालयद्वारा सम्मानित भएका छन् ।
सम्मान पत्र ग्रहण गर्दै स्व. समर बहादुर शाहीको धर्मपत्नी
सम्मान ग्रहण गर्दै शिक्षक उम बहादुर गुरुङ (बिकास)

शैक्षिक सत्र २०७९ को उत्कृष्ट विद्यार्थी (Student of The Year 2079) हाल कक्षा ९ मा अध्यनरत छात्रा स्मृति वि.क. भएका छ । उनलाई भू.पु. वि.व्य.स. अध्यक्ष देबेन्द्र खाँणले बेस्ट स्टुडेन्ट जर्सी, प्रमाणपत्र र अन्य पुरस्कारले सम्मान गर्नुभयो । अतिरिक्त कृयाकलाप तर्फ अन्तर-सदनात्मक पुरुष भलिवल र हाजिरी जवाफ प्रतियोगिता, हिसाब दौड, बेलुन फुटाई, चम्चा गुच्चा दौड, विद्यार्थी घैँटो फोड, अभिभावक घैँटो फोड, विद्यार्थी कुर्सी दौड (म्युजिकल चियर) र अभिभावक कुर्सी दौड लगायत अन्य विभिन्न विधामा विजेता तथा उपविजेता सबैलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा वाल क्लव तथा विद्यार्थीहरुको बेजोड साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत भयो ।
Student of The Year पुरस्कार ग्रहण गर्दै स्मृति बि.क.
कार्यक्रममा बोल्दै नगर प्रमुख देब बहादुर खाँण (ईश्वर)ले खड्गकाली मा.वि. आफूले विगतमा अध्यापन गरेको विद्यालय भएको र आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा प्रतिबद्ध रहने बाचा गर्नुभयो । उहाँले, प्र.अ. को मागपत्र अनुरुप विद्यालयमा मा.वि. दरबन्दी, भौतिक पक्ष र प्लस टु सञ्चालनको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । यस बाहेक उहाँले लग्दा रमालीगाउँ ग्रामिण सडक स्तरोन्नति गर्न प्रदेश स्तरमै योजनाको निम्ति आवश्यक कदम चाल्ने र प्राविधिक कारणवश गत आर्थिक वर्षम सम्पन्न हुन नसकेको घुर्लिचौर - च्यारे झोलुङ्गेपुल योजनाको लागि सम्बन्धित निकायहरुसंग समन्वय गर्ने कुरा बताउनुभयो ।
६० औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री तिलक बहादुर खाँण हुनुहुन्थ्यो भने कार्यक्रम उद्घोषण शिक्षक श्री पशुपति पौडेलद्वारा भएको थियो । कार्यक्रमको अन्तिममा जलपान कार्यक्रम पश्चात् कार्यक्रम विधिवत रुपमा सम्पन्न भयो ।
कार्यक्रम सञ्चालन गर्दै शिक्षक पशुपति पौडेल

अपडेट
लोडिङ हुँदै छ...