सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा ६० औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एवं चारकोठे भवन समुद्घाटन कार्यक्रम सम्पन्न

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०८० वैशाख ३१ गते ६० औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एवं चारकोठे भवनको समुद्घाटन समारोह भव्यताकासाथ सम्पन्न भयो ।
रिवन काटी चारकोठे भवनको उद्घाटन गर्दै प्रमुख अतिथि
कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख एवम् विकासप्रेमी युवा नेता श्री देव बहादुर खाँण (ईश्वर) रहनु भएको थियो । विशिष्ट अतिथिमा चापाकोट नगर प्रहरी नायव उपरीक्षक (डिएसपी), 'जिल्ला समन्वय समिति' स्याङ्जाका सदस्य गिता खाँण, चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण एवं चापाकोट ने.का. सभापति तथा पूर्व वडाध्यक्ष बिक्रम सारु लगायत रहनुभएको थियो । समारोहमा नगर वडा समितिका पदाधिकारी, भु.पु. वि.ब्य.स. अध्यक्ष, भू.पू. शिक्षक, विद्यालय संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, शिक्षक अभिभावक संघ तथा टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएका थिए । छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्याक्तित्व, वर्तमान तथा भू.पू. विद्यार्थी, अभिभावक र अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थित रहेको थियो ।
कार्यक्रममा शिक्षक कोपिला रोका के.सी.द्वारा स्वागत मनतव्य व्यक्त भयो । विद्यालयका प्रधानाध्यापकले आ.व. २०७९/२०८० को सरकारी तथा निजी स्रोत गरी रु. ९९,२९,३१८/- बराबरको आय-व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । उहाँले कार्यक्रमको केन्द्रबिन्दु अर्थात नगर प्रमुख देव बहादुर खाँणलाई गत वर्षको वार्षिकोत्सबमा बाचा गरे अनुरुपको भौतिक निर्माण योजना तथा शिक्षक अनुदान उपलब्ध गराइदिनुभएकोमा धन्यबाद दिँदै आगामी शैक्षिक सत्रको निम्ति आधारभूत विद्यालयीय भौतिक तथा शैक्षिक पूर्वाधारहरुको संक्षिप्त मागपत्र प्रस्तुत गर्नुभयो । उहाँले, नगरप्रमुख समक्ष विद्यार्थीहरुको संख्या र आवश्यकता अनुरुप माध्यमिक शिक्षक दरबन्दी उपलब्ध गराउन वा शिक्षक अनुदानलाई निरन्तरता दिन र आम अभिभावकहरुको मागलाई सम्बोधन गर्दै प्लस टु कक्षा वृद्धि प्रसंगमा नगरप्रमुखलाई ध्यानाकर्षण गर्नुभयो ।
आर्थिक कारोबारको प्रतिवेदन पेश गर्दै प्र.अ. लेसबहादुर खाँण
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहनुभएको नगर सभापति विक्रम बहादुर सारु, वडा नं ४ वडाध्यक्ष अर्जुन कुमार खाँणले पनि ६० औं वार्षिकोत्सव मनाउन सफल भएकोमा समग्र विद्यार्थी र विद्यालय परिवारलाई बधाई दिँदै मनतव्य दिएर आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा आफूहरुले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । एवम् रितले आमन्त्रित अतिथिहरुद्वारा पनि मन्तव्य व्यक्त भयो ।
कार्यक्रममा वार्षिक परीक्षा - २०७९ को नतिजाको पुरस्कार वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषबाट जनही रु. १०००/- का दरले ३२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, माध्यमिक शिक्षा परीक्षा (SEE) २०७८ को उत्कृष्ट २ जना छात्र र छात्राहरु सुबास बहादुर पौडेल र भूमिका मल्ललाई जनही नगद रु. ५०००/- र प्रमाणपत्र, आधारभूत तह परीक्षा (BLE) २०७९ को विद्यालय उत्कृष्ट स्मृति बि.क.लाई नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र तथा २०७९ को बार्षिक परीक्षामा सर्बोत्कृष्ट अंक ल्याई विद्यालय प्रथम हुन सफल छात्रा आइस्मा खाँणलाई पनि नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदान गरियो ।
SEE उत्कृष्ट पुरस्कार ग्रहण गर्दै सुवास बहादुर पौडेल
नव निर्मित चारकोठे भवनको जग्गादाता दिवंगत भू.पु. वि.व्य.स. अध्यक्ष क्या. समर बहादुर शाहीको धर्मपत्नीलाई विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको करदस्वरुप सम्मान गरियो । त्यसैगरी उत्कृष्ट अभिभावकको रुपमा भू.पू. शिक्षक अभिभावक संघका अध्यक्ष श्याम बहादुर थापा सम्मानित हुनुभयो । आफ्नो गाउँको क्लवको २० औं वार्षिकोत्सबको अवसरमा खड्गकाली मा.वि.मा अक्षयकोष स्थापनार्थ रु. तीस हजार प्रदान गर्नुभएका श्री चक्रकला युवा क्लव, चापाकोट-४, लामडाडालाई पनि सम्मान गरियो । शिक्षक उम बहादुर गुरुङ (बिकास) लाई विद्यालयको शैक्षिक, प्रशासनिक र अन्य गतिविधिमा गर्नुभएको उत्कृष्ट प्रदर्शनीको मूल्यांकन गर्दै सम्मानित गरियो । त्यसैगरी, प्रत्यक्ष वा परोक्ष रुपमा योगदान गर्ने विभिन्न अतिथी, अभिभावक र समाजसेवी व्यक्तित्वहरू पनि विद्यालयद्वारा सम्मानित भएका छन् ।
सम्मान पत्र ग्रहण गर्दै स्व. समर बहादुर शाहीको धर्मपत्नी
सम्मान ग्रहण गर्दै शिक्षक उम बहादुर गुरुङ (बिकास)

शैक्षिक सत्र २०७९ को उत्कृष्ट विद्यार्थी (Student of The Year 2079) हाल कक्षा ९ मा अध्यनरत छात्रा स्मृति वि.क. भएका छ । उनलाई भू.पु. वि.व्य.स. अध्यक्ष देबेन्द्र खाँणले बेस्ट स्टुडेन्ट जर्सी, प्रमाणपत्र र अन्य पुरस्कारले सम्मान गर्नुभयो । अतिरिक्त कृयाकलाप तर्फ अन्तर-सदनात्मक पुरुष भलिवल र हाजिरी जवाफ प्रतियोगिता, हिसाब दौड, बेलुन फुटाई, चम्चा गुच्चा दौड, विद्यार्थी घैँटो फोड, अभिभावक घैँटो फोड, विद्यार्थी कुर्सी दौड (म्युजिकल चियर) र अभिभावक कुर्सी दौड लगायत अन्य विभिन्न विधामा विजेता तथा उपविजेता सबैलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा वाल क्लव तथा विद्यार्थीहरुको बेजोड साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत भयो ।
Student of The Year पुरस्कार ग्रहण गर्दै स्मृति बि.क.
कार्यक्रममा बोल्दै नगर प्रमुख देब बहादुर खाँण (ईश्वर)ले खड्गकाली मा.वि. आफूले विगतमा अध्यापन गरेको विद्यालय भएको र आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा प्रतिबद्ध रहने बाचा गर्नुभयो । उहाँले, प्र.अ. को मागपत्र अनुरुप विद्यालयमा मा.वि. दरबन्दी, भौतिक पक्ष र प्लस टु सञ्चालनको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । यस बाहेक उहाँले लग्दा रमालीगाउँ ग्रामिण सडक स्तरोन्नति गर्न प्रदेश स्तरमै योजनाको निम्ति आवश्यक कदम चाल्ने र प्राविधिक कारणवश गत आर्थिक वर्षम सम्पन्न हुन नसकेको घुर्लिचौर - च्यारे झोलुङ्गेपुल योजनाको लागि सम्बन्धित निकायहरुसंग समन्वय गर्ने कुरा बताउनुभयो ।
६० औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री तिलक बहादुर खाँण हुनुहुन्थ्यो भने कार्यक्रम उद्घोषण शिक्षक श्री पशुपति पौडेलद्वारा भएको थियो । कार्यक्रमको अन्तिममा जलपान कार्यक्रम पश्चात् कार्यक्रम विधिवत रुपमा सम्पन्न भयो ।
कार्यक्रम सञ्चालन गर्दै शिक्षक पशुपति पौडेल

0 Comments

Famous Quotes: