सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

पढ्ने बानी कसरी बसाल्ने?

पढ्ने बानी कसरी बिकास गर्ने?
अध्ययन गर्ने बानी विज्ञता प्राप्तिको एउटा आधार हो। बिनाअध्ययन कुनै पनि कुरामा विज्ञ हुन सकिन्न, न त परीक्षामै सफल हुन सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा यो युगमा गाँस, बास, कपासजस्तै अध्ययन अर्को आधारभूत आवश्यकताभित्रै पर्न थालेको छ। मान्छेले विद्यालयदेखि विश्वविद्यालयस्तरसम्मको अध्ययन पूरा गर्ने क्रममा जीवनको लामो कालखण्ड पढाइमा बिताउने गर्छ। तैपनि कतिपयमा अध्ययन गर्ने बानी बसेको हुँदैन। अध्ययन गर्ने बानी पनि नशाजस्तै हो। झन पढ्यो झनै पढ्न मन लाग्छ।
कतिपय विद्यार्थी पढ्ने कामलाई बोझ सम्झने गर्छन। त्यो ठूलो भूल हो र गलत प्रवृत्ति पनि। खासगरी विद्यार्थीमा कसरी अध्ययन गर्ने बानी बसाल्ने भन्ने ज्ञान हुन आवश्यक छ। जसका कारण कतिपय विद्यार्थी न धेरै पढ्न सक्छन् न त चाहेअनुसारको सफलता नै पाउन सक्छन्। पढ्ने बानी बसाल्ने केही तरिका यहाँ उल्लेख छ :
  • अध्ययन गर्ने बानी बसाउन सुरुका केही दिन वा महिना आफूलाई मन पर्ने पुस्तक, पत्रिका वा अन्य रुचिका सामग्रीमात्रै पढ्नुपर्छ।
  • जबरजस्ती धेरै समय वा सामग्री पढ्नु हुन्न। सुरुका केही दिन दैनिक आधा घन्टामात्रै पढे हुन्छ। तर, यो समयलाई विस्तारै बढाउँदै लैजानुपर्छ।
  • कुनै पनि पुस्तक, पत्रिका वा अन्य सामग्री पढिसकेपछि यसबाट के ज्ञान वा जानकारी पाएँ भन्ने कुराको हेक्का राख्नुपर्छ। त्यो ज्ञान वा जानकारी कहाँ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सोच्नुपर्छ। यसले तपाईंलाई बौद्धिक विश्लेषण गर्ने बानीमात्रै होइन, आत्मविश्वास पनि बढाउँछ।
  • विद्यार्थीले पाठ्यसामग्री अध्ययन गरिसकेपछि त्यससम्बन्धी कति ज्ञान वा जानकारी पाउन सकेँ भन्ने मूल्यांकन गर्न र त्यसलाई अझ स्मरणीय बनाउन लेख्ने बानी गर्नुपर्छ। कतिपय विद्यार्थीमा पुस्तक पढ्दा बुझिसकेजस्तो लाग्ने तर लेख्ने बेलामा केही पनि नआउने प्रवृत्ति हुन्छ।
  • परीक्षाका बेला जबरजस्ती धेरै पढ्ने र अन्य समयमा किताब नै नहेर्ने बानी राम्रो होइन। त्यसले अध्ययन गर्ने बानी बिगार्नुका साथै मानसिक तनाव, अनिद्रा र अनावश्यक बोझ महसुस गराउँछ। त्यसैले परीक्षा आउनुभन्दा अगाडि नै अध्ययन गर्ने बानी बसालिसक्नुपर्छ।
  • चिया खाने बेला वा अन्य फुर्सदको समयमा साथीहरूसँग पाठ्यसामग्रीका कुनै विषयमा छलफल गर्नु राम्रो हुन्छ। यसले विषयगत ज्ञान बढाउनुका साथै छलफलमा आफ्नो तर्क सशक्त बनाउन पढ्नुपर्छ भन्ने भावना विकास हुन्छ।
  • कतिपयमा अनिद्राको समस्या हुनसक्छ। यदि राति राम्ररी निद्रा लागेन भने छट्पटाउनुको सट्टा उठेर पढ्ने बानी बसाउनुपर्छ। अध्ययनप्रतिको एकाग्रताले निद्रा ल्याउनुका साथै पढ्ने बानी पनि बस्छ।
विद्यार्थी हितको लागी श्री खड्गकाली मा.वि. चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा ।

1 Comments

  1. पठनमा रमाउन त्यसतो विधि पढन्ते भइरहनु पर्दैन। तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पुर्याउँछ। पठनले हाम्रो सोचाई र चिन्तनलाई फराकिलो बनाउँछ। पठन शेलीको बारेमा लेखिएको तपाईंको माथीका टिप्सहरु निकै कामलाग्दा छन्।

    ReplyDelete

Famous Quotes: