श्री खड्गकाली मा.वि. मा ६१ औं बाल दिवस भव्यताका साथ सम्पन्न
श्री खड्गकाली माध्यमिक विद्यालयमा चापाकोट-४, घुर्लिचौरमा आज मिति २०८२ भाद्र २९ गते, 'बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नाराका साथ ६१औं बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा सहायक प्रधानाध्यापक राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो भने अन्य शिक्षकहरू अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा बाल क्लबद्वारा आयोजित विभिन्न प्रतियोगिताहरूले बालबालिकाहरूमा उत्साह थपेको थियो। कक्षा १ देखि ३ सम्म सञ्चालित स्मृति खेल (Memory Game) मा क्रमशः कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट सनिसा शाल्मी र कक्षा ३ बाट विश्वास बि.क. प्रथम भएका छन्। यस्तै, कक्षा ४ र ५ का लागि आयोजित स्मृति खेलमा कक्षा ५ की छात्रा रोशनी खाँणले प्रथम स्थान हासिल गरेकी छिन्।
कक्षा ६ देखि १० सम्मको लागि अन्तरसदनात्मक जनचेतनामूलक नाटक प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगितामा मनास्लु सदनका इस्मी मल्ल उत्कृष्ट भएकी छिन्।
कार्यक्रमको अन्त्यमा, विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी उनीहरूको उत्साह र लगनको सम्मान गरिएको छ। बाल दिवसको अवसरमा आयोजित यी कार्यक्रमहरूले बालबालिकाहरूको प्रतिभा प्रस्फुटनका साथै उनीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएको प्र.अ. लेसबहादुर खाँणले जनाउनुभयो।