1/09/2026

नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित हुनभएको प्र.अ. लेस बहादुर खाँणलाई बधाई ज्ञापन गरिँदै

नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित हुनभएको प्र.अ. लेस बहादुर खाँणलाई बधाई ज्ञापन गरिँदै

​श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जाका आदरणीय प्रधानाध्यापक श्री लेस बहादुर खाँणज्यूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र प्रशासनिक सुदृढीकरणमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै चापाकोट नगरपालिकाले उहाँलाई नगरस्तरीय 'उत्कृष्ट प्रधानाध्यापक' को रूपमा सम्मानित गरेको छ। यस सुखद अवसरमा आज मिति २०८२ पुस २५ गते विद्यालय परिवारद्वारा एक विशेष समारोह आयोजना गरी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरिएको छ । उहाँको सफल नेतृत्व र आगामी सुखद कार्यकालका लागि विद्यालय परिवार सधैं गौरव गर्दै शुभकामना व्यक्त गर्दछ ।

1/02/2026

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा घैटो फुटाइ, कविता लेखन तथा भलिबल खेल प्रतियोगिता सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालयमा आज मिति २०८२ पुस १८ गते शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरू भव्यताका साथ सम्पन्न भएको छ। 'बालिका मैत्री समूह' को आयोजनामा सञ्चालित उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि घैटो फुटाइ र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि कविता लेखन तथा छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगिताको नतिजा अनुसार घैटो फुटाइतर्फ कक्षा केजीबाट संयोग खाँण र कक्षा १ बाट पवन बि.क. प्रथम भएका छन्। त्यसैगरी, कविता लेखन प्रतियोगितामा कक्षा ६ बाट रोशनी पौडेल (अन्नपूर्ण सदन), कक्षा ७ बाट बिसुम खाँण (मनास्लु सदन), कक्षा ८ बाट सोडिमा सारु (अन्नपूर्ण सदन), कक्षा ९ बाट अन्जिता खाँण (कञ्चनजङ्घा सदन) र कक्षा १० बाट अप्सरा थापा (अन्नपूर्ण सदन) आ-आफ्नो कक्षामा प्रथम हुन सफल भएका छन्।
यस्तै, कक्षा ६ देखि १० का छात्रहरूबीच भएको सदनगत भलिबल प्रतियोगितामा अन्नपूर्ण सदनले प्रथम स्थान हासिल गरेको छ भने माछापुच्छ्रे सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन्। प्रतियोगिताका सम्पूर्ण विजयी छात्र-छात्राहरूलाई विद्यालयको तर्फबाट पुरस्कृत गरिने छ।

12/19/2025

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ४ गते जुनियर रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र कक्षा ६-१० मा चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।
सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन तर्फ कक्षा केजीबाट रिअन्सु थापा, कक्षा १ बाट पवन बि.क., कक्षा २ बाट सनिसा शाल्मी, कक्षा ३ बाट दिप्सन शाही, कक्षा ४ बाट गौसम खाँण र कक्षा ५ बाट प्रियांका मल्ल प्रथम भएका छन् । 
त्यसैगरी, चित्रकला प्रतियोगिता तर्फ कक्षा ६ बाट नमन खाँण, कक्षा ७ बाट अप्सन मल्ल र कक्षा १० बाट विवश गुरुङ प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छन् ।

11/14/2025

​श्री खड्गकाली माविमा शिक्षक राजेन्द्र बहादुर थापाको सम्मानसहित बिदाइ

​श्री खड्गकाली माविमा शिक्षक राजेन्द्र बहादुर थापाको सम्मानसहित बिदाइ

कार्यक्रमको अन्त्यमा लिइएको सामूहिक तस्बिर
स्याङ्जाको चापाकोट नगरपालिका-४, घुर्लिचौरस्थित श्री खड्गकाली माध्यमिक विद्यालयले करिब ४० वर्ष लामो शिक्षण सेवापछि निवृत्त हुनुभएका शिक्षक श्री राजेन्द्र बहादुर थापालाई सम्मानसहित बिदाइ गरेको छ । विद्यालयले आज मिति २०८२ कार्तिक २८ गते एक कार्यक्रम आयोजना गरी उहाँको योगदानको कदर गरेको हो ।
सेवा निवृत्त हुनुभएको शिक्षक राजेन्द्र बहादुर थापा
शिक्षक थापाले यस विद्यालयमा आन्तरिक स्रोत, अस्थायी र स्थायी शिक्षकका रूपमा करिब चार दशक निरन्तर सेवा गर्नुभएको थियो । उहाँ वि.सं. २०४२ फाल्गुन १० गते अस्थायी र वि.सं. २०४५ जेठ २६ गते स्थायी नियुक्ति लिई सेवामा प्रवेश गर्नुभएको थियो भने, वि.सं. २०८२ असोज १० गतेदेखि अनिवार्य अवकाशमा हुनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रतिनिधि गीता खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक प्रसाद अर्याल, विद्यालय व्यवस्थापन समितिका वर्तमान पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक पशुपति पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी, प्रधानाध्यापक लेस बहादुर खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व वि.व्य.स. अध्यक्ष टंक प्रसाद अर्याल, जि.स.स. प्रतिनिधि गीता खाँण, शिक्षक जगदीशप्रसाद यादव र विद्यार्थीको तर्फबाट परि क्षेत्री लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले निवृत्त शिक्षक थापाले विद्यालयको शैक्षिक र भौतिक उन्नयनमा पुर्‍याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सुखद अवकाश जीवनको कामना गर्नुभयो ।
सो अवसरमा विद्यालय परिवार र विद्यार्थीहरूले विदाई हुनुभएका शिक्षक थापालाई टीका, खादा, दोसल्ला, टोपी र माल्यार्पणसहित सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
​आफ्नो अवकाशको अवसरलाई अविस्मरणीय बनाउँदै शिक्षक थापाले विद्यालयका जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले आफ्ना स्वर्गीय बुवा तहलसिङ थापा, माता लक्ष्मी देवी थापा र श्रीमती कृष्णकुमारी थापाको स्मृतिमा रु. ३०,०००/- (तीस हजार) को अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा शिक्षक थापाको रिक्त दरबन्दीमा सरुवा भई आउनुभएकी नवनियुक्त शिक्षिका कुमारी तुलसी सारु थापालाई स्वागतसमेत गरिएको थियो ।
​विद्यालयका शिक्षक गोकर्ण जिसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम, अध्यक्ष तिलक बहादुर खाँणले समापन मन्तव्य राख्दै विधिवत अन्त्य गर्नुभएको थियो । कार्यक्रमपश्चात् जलपानको व्यवस्था गरिएको थियो ।
अपडेट
लोडिङ हुँदै छ...