श्री खड्गकाली माविमा शिक्षक राजेन्द्र बहादुर थापाको सम्मानसहित बिदाइ
![]() |
| कार्यक्रमको अन्त्यमा लिइएको सामूहिक तस्बिर |
![]() |
| सेवा निवृत्त हुनुभएको शिक्षक राजेन्द्र बहादुर थापा |
शिक्षक थापाले यस विद्यालयमा आन्तरिक स्रोत, अस्थायी र स्थायी शिक्षकका रूपमा करिब चार दशक निरन्तर सेवा गर्नुभएको थियो । उहाँ वि.सं. २०४२ फाल्गुन १० गते अस्थायी र वि.सं. २०४५ जेठ २६ गते स्थायी नियुक्ति लिई सेवामा प्रवेश गर्नुभएको थियो भने, वि.सं. २०८२ असोज १० गतेदेखि अनिवार्य अवकाशमा हुनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रतिनिधि गीता खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक प्रसाद अर्याल, विद्यालय व्यवस्थापन समितिका वर्तमान पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक पशुपति पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी, प्रधानाध्यापक लेस बहादुर खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व वि.व्य.स. अध्यक्ष टंक प्रसाद अर्याल, जि.स.स. प्रतिनिधि गीता खाँण, शिक्षक जगदीशप्रसाद यादव र विद्यार्थीको तर्फबाट परि क्षेत्री लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले निवृत्त शिक्षक थापाले विद्यालयको शैक्षिक र भौतिक उन्नयनमा पुर्याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सुखद अवकाश जीवनको कामना गर्नुभयो ।
सो अवसरमा विद्यालय परिवार र विद्यार्थीहरूले विदाई हुनुभएका शिक्षक थापालाई टीका, खादा, दोसल्ला, टोपी र माल्यार्पणसहित सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
आफ्नो अवकाशको अवसरलाई अविस्मरणीय बनाउँदै शिक्षक थापाले विद्यालयका जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले आफ्ना स्वर्गीय बुवा तहलसिङ थापा, माता लक्ष्मी देवी थापा र श्रीमती कृष्णकुमारी थापाको स्मृतिमा रु. ३०,०००/- (तीस हजार) को अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा शिक्षक थापाको रिक्त दरबन्दीमा सरुवा भई आउनुभएकी नवनियुक्त शिक्षिका कुमारी तुलसी सारु थापालाई स्वागतसमेत गरिएको थियो ।
















.jpg)





















































