11/14/2025

​श्री खड्गकाली माविमा शिक्षक राजेन्द्र बहादुर थापाको सम्मानसहित बिदाइ

​श्री खड्गकाली माविमा शिक्षक राजेन्द्र बहादुर थापाको सम्मानसहित बिदाइ

कार्यक्रमको अन्त्यमा लिइएको सामूहिक तस्बिर
स्याङ्जाको चापाकोट नगरपालिका-४, घुर्लिचौरस्थित श्री खड्गकाली माध्यमिक विद्यालयले करिब ४० वर्ष लामो शिक्षण सेवापछि निवृत्त हुनुभएका शिक्षक श्री राजेन्द्र बहादुर थापालाई सम्मानसहित बिदाइ गरेको छ । विद्यालयले आज मिति २०८२ कार्तिक २८ गते एक कार्यक्रम आयोजना गरी उहाँको योगदानको कदर गरेको हो ।
सेवा निवृत्त हुनुभएको शिक्षक राजेन्द्र बहादुर थापा
शिक्षक थापाले यस विद्यालयमा आन्तरिक स्रोत, अस्थायी र स्थायी शिक्षकका रूपमा करिब चार दशक निरन्तर सेवा गर्नुभएको थियो । उहाँ वि.सं. २०४२ फाल्गुन १० गते अस्थायी र वि.सं. २०४५ जेठ २६ गते स्थायी नियुक्ति लिई सेवामा प्रवेश गर्नुभएको थियो भने, वि.सं. २०८२ असोज १० गतेदेखि अनिवार्य अवकाशमा हुनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रतिनिधि गीता खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक प्रसाद अर्याल, विद्यालय व्यवस्थापन समितिका वर्तमान पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक पशुपति पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी, प्रधानाध्यापक लेस बहादुर खाँण, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन बहादुर खाँण, भूतपूर्व वि.व्य.स. अध्यक्ष टंक प्रसाद अर्याल, जि.स.स. प्रतिनिधि गीता खाँण, शिक्षक जगदीशप्रसाद यादव र विद्यार्थीको तर्फबाट परि क्षेत्री लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले निवृत्त शिक्षक थापाले विद्यालयको शैक्षिक र भौतिक उन्नयनमा पुर्‍याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र सुखद अवकाश जीवनको कामना गर्नुभयो ।
सो अवसरमा विद्यालय परिवार र विद्यार्थीहरूले विदाई हुनुभएका शिक्षक थापालाई टीका, खादा, दोसल्ला, टोपी र माल्यार्पणसहित सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
​आफ्नो अवकाशको अवसरलाई अविस्मरणीय बनाउँदै शिक्षक थापाले विद्यालयका जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले आफ्ना स्वर्गीय बुवा तहलसिङ थापा, माता लक्ष्मी देवी थापा र श्रीमती कृष्णकुमारी थापाको स्मृतिमा रु. ३०,०००/- (तीस हजार) को अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा शिक्षक थापाको रिक्त दरबन्दीमा सरुवा भई आउनुभएकी नवनियुक्त शिक्षिका कुमारी तुलसी सारु थापालाई स्वागतसमेत गरिएको थियो ।
​विद्यालयका शिक्षक गोकर्ण जिसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम, अध्यक्ष तिलक बहादुर खाँणले समापन मन्तव्य राख्दै विधिवत अन्त्य गर्नुभएको थियो । कार्यक्रमपश्चात् जलपानको व्यवस्था गरिएको थियो ।

9/18/2025

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो

खड्गकाली मा.वि.मा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाइयो


श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट न.पा. ४, घुर्लिचौर, स्याङ्जाले २०८२ असोज २ गते बुधबार “ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता" भन्ने आदर्श नाराको साथ रेडक्रसको आयोजनमा राष्ट्रिय शिक्षा दिवस विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र पठन सीपलाई उजागर गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। कक्षा १ देखि ३ सम्म कक्षागत तथा ४ र ५ का विद्यार्थीहरूमा अन्तरसदनात्मक अंग्रेजी भाषाको स्पेलिङ कन्टेस्ट सञ्चालन गरिएको थियो। त्यसैगरी, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरे।
प्रतियोगितामा कक्षा १-३ को स्पेलिङ कन्टेस्टमा कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट अनुराग काफले र कक्षा ३ बाट बर्षा खाँण प्रथम भएका छन् । त्यस्तै; कक्षा ४ र ५ अन्तरसदनात्मक रुपमा सञ्चालन गरिएको स्पेलिङ कन्टेस्टमा अन्नपूर्ण सदन प्रथम भएका छन् । उक्त सदनमा कक्षा ४ बाट सिमा क्षेत्री र संगम गुरुङ तथा कक्षा ५ बाट गौसम खाँण र सागर गुरुङ रहेका थिए । 
त्यसैगरी, विज्ञान प्रदर्शनी तर्फ कक्षा ६ बाट संस्कृति सारु, कक्षा ७ बाट अप्सन मल्ल, कक्षा ८ बाट बिनोद खाँण, ९ बाट इस्मी मल्ल र १० बाट नोमिस्का गुरुङले आ-आफ्नो कक्षाबाट प्रथम स्थान हासिल गर्न सफल भए। सर्वोत्कृष्ट प्रदर्शनी भने कक्षा ७ का अप्सन मल्लले गरे । उक्त प्रतियोगिताको निर्णायक विज्ञान शिक्षकहरु अविषेक अधिकारी र जगदीशप्रसाद यादव रहनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यता र रेडक्रसको अध्यक्ष इस्मी मल्लको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रम रेडक्रसको सचिव एलिजा रानाले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा सम्पूर्ण विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो । कक्षा १ देखि ५ सम्मकालाई विद्यालयले र कक्षा ६ देखि १० सम्मका प्रतियोगीहरुलाई रेडक्रसका पदाधिकारीहरुले पुरस्कार प्रायोजन गरेका थिए । 
अपडेट
लोडिङ हुँदै छ...